★ जीव भू-रासायनिक चक्र (Bio-geochemical cycle)

 ● भू-रासायनिक चक्र भनेको के हो ?

अक्सिजन, नाइट्रोजन, कार्वन र विभिन्न लवणहरू वनस्पति र जनवार हुँदै पुनः वातावरणमा नै फर्किने क्रियालाई जीव भू-रासायनिक चक्र भनिन्छ।

जल चक्र, अक्सिजन चक्र, कार्बन चक्र, नाइट्रोजन चक्र आदि यसका उदाहरण हुन् ।

★ जलवक्र

सूर्यबाट आएको तापले गर्दा नदीनाला, पोखरी, ताल, समुद्र, हिमखण्ड, ओसिलो जमिन, जीवजन्तुहरूमा रहेको पानी आदि वाष्पीकरण भई वायूमण्डलमा जान्छ र वादल बन्दछ। त्यसैगरी जमिनको सतहमुनि भएको पानी बोटबिरुवाहरूको उत्स्वेदन प्रक्रियाद्वारा तिनीहरूमा भएको पानी पातका छिद्रहरूबाट वाफका रुपमा बाहिर निस्की वायुमण्डलमा मिल्दछ ।यसरी बनस्पतिले प्रयोग गरेको पानी वाष्पीकरण हुने प्रक्रिया प्रकृतिमा निरन्तर रुपमा चलिरहन्छ। यसै गरी जनावरहरूले पनि खानाका रुपमा पानी लिन्छन् । यसरी लिएको पानी मूत्र पसिना आदिबाट वातावरणमा नै फर्काइन्छ । वाष्पीकरण भएर वायुमण्डलमा पुगेको पानीका स-साना कणहरू बिस्तारै आपसमा मिल्दछन् र बादलमा परिणत हुन्छन्। पानीका स-साना कणहरू जोडिएर ठूल्ठूला कणहरू कणहरू बन्दछन् र वर्षाका रुपमा पृथ्वीमा नै झर्दछन् । वर्षा हुँदा अधिकांश पानी बगेर नदीनाला, खोला, ताल, समुद्र, पोखरी, आदिमा पुग्दछ। हिउँ, असिना, तुसारोका रुपमा रहेको पानी सौर्य तापले गर्दा विस्तारै पग्लेर तरलमा परिणत हुन्छ। पृथ्वीको सतहमा भएको पानीको केही भाग खाल्डो, जमिनको चिरा तथा माटोमा भएका छिद्रहरूबाट छिरेर जमिनको सतहभित्र पुग्दछ। तलतिर छिर्दै गएको पानी कडा चट्टान भएको वा चट्टानका टुक्राहरूले प्वाललाई थुनेको स्थानमा पुगेपछि त्यहीँ नै रोकिन्छ । यसरी सञ्चित भएको पानी भूमिगत जल(Underground water) हो। भूमिगत जल होचो भागको प्वाल तथा छिद्रहरूबाट मूलका रुपमा बाहिर निस्कन्छ । विभिन्न स्थानहरूमा रहेको पानी पुनः वाष्पीकरण भई बाफका रुपमा वायुमण्डलमा जान्छ । यसरी जलप्रवाह निरन्तर रुपमा नै चलिरहन्छ, जसलाई जलचक्र भनिन्छ ।

★ अक्सिजन चक्र

→ मानिस, बोटविरुवा, जनावर आदिले श्वासप्रश्वासको माध्यमबाट आफुलाई चाहिने अक्सिजन वायुमण्डलमा भएको हावाबाट लिन्छन् ।पानीमा रहेका जीवहरूले पानीमा घुलेर रहेको अक्सिजन लिन्छन् र कार्बनडाइअक्साइड फाल्छन् ।

बोटबिरुवाले प्रकाश संश्लेषण प्रक्रियाद्वारा खाना बनाउँदा वायुमण्डलमा भएको कार्बनडाइअक्साइड लिन्छन् र अक्सिजन फाल्छन् जुन वायुमण्डलमा नै मिल्दछ । यसरी वायूमण्डलमा रहेको अक्सिजन प्रयोग गरी कार्वनडाइअक्साइड बनाउने र त्यसको उपयोग गरी पुन अक्सिजनलाई वायुमण्डलमा नै फर्काउने क्रियालाई अक्सिजन चक्र भनिन्छ।

प्रकृतिमा अक्सिजन ग्यास यौगिकका रुपमा अक्साइड, कार्बोनेट र पानीमा रहेको हुन्छ। अक्सिजन चक्रको सञ्चालन प्रक्रियामा श्वासप्रश्वास र प्रकाश संश्लेषण प्रक्रियाको विशेष भूमिका हुन्छ । बोटबिरुवाहरूले वायुमण्डलमा भएको कार्बनडाइअक्साइड प्रकाश संश्लेषण प्रक्रियाद्वारा आफ्नो खाना बनाउँदा प्रयोगमा ल्याउँछन् ।


★ कार्बन चक्र

→ बोटबिरुवाहरूले वायुमण्डलमा भएको कार्बनडाइअक्साइड प्रकाश संश्लेषण प्रक्रियाद्वारा अताफ्नो खाना बनाउँदा प्राप्त गरेको कार्बनडाइअक्साइड ग्यास फेरि कुनै न कुनै किसिमबाट वायुमण्डलमा नै फर्कन्छ। जीवाणुहरूले मृत वस्तुहरूलाई विच्छेदन गर्दा कार्वनडाइअक्साइड निस्कन्छ जुन वायुमण्डलमा नै मिल्दछ। जीवाणु बिरुवा, मानिस, जनावर आदिले श्वासप्रश्वास गर्दा निष्कासन हुने कार्बनडाइअक्साइड लगायतका सबै ग्यास वायुमण्डलमा नै मिल्दछ। 

बोटबिरुवा तथा काठ दाउरा धेरै वर्षसम्म जमिनमुनि चिएर रहँदा कोइला, पेट्रोलजस्ता पदार्थहरू बन्दछन् । जसलाई घरायसी कार्य, उद्योग, कलकारखाना, यातायातका साधनहरू चलाउँदा इन्धनका रुपमा प्रयोग गरिन्छ। 

यी कार्यहरूबाट प्रशस्त धुवाँ निस्कन्छ जसमा कार्बनडाइअक्साइड हुन्छ ।

 ज्वालामुखी विष्फोटन हुँदा निस्कने धुवाँमा पनि कार्बनडाइअक्साइ हुन्छ। 

तसर्थ विभिन्न प्रक्रियाहरूबाट निस्केको कार्बनडाइअक्साइड वायुमण्डलमा मिल्दछ। 

वायुमण्डलमा फिर्ता गएक कार्बनडाइअक्साइडलाई हरिया बोटविरुवाहरूले पुन प्रयोगमा ल्याउछ । 

यसरी वायुमण्डलमा कार्बनडाइअक्साइड आदानप्रदान निरन्तर रुपमा चलिरहेन प्रक्रियालाई कार्बन चक्र भनिन्छ ।

★ नाइट्रोजन चक्र

 वातावरणमा भएको नाइट्रोजन वनस्पति र जन्तु हुँदै पुनः वातावरणमा नै फर्कने क्रियालाई नाइट्रोजन चक्र भनिन्छ।

 ● नाइट्रोजन स्थिरीकरण (nitrogen fixation) भनेको के हो ?

वायुमण्डलीय नाइट्रोजन नाइट्रेटमा बदलिने प्रक्रियालाई नाइट्रोजन स्थिरीकरण (nitrogen fixation) भनिन्छ।

एमोनियाकरण (ammonification) भनेको के हो ?

  प्राणी तथा वनस्पतिहरूमा प्रशस्त मात्रामा प्रोटिन हुन्छ। यिनीहरू मरेपछि यिनीहरूमा भएको प्रोटिनलाई फन्जाई तथा ब्याक्टेरियाले विच्छेदन गर्दछन् । यसरी मृत वस्तुहरू विच्छेदन हुँदा एमोनिया उत्पादन हुन्छ । यस प्रक्रियालाई एमोनियाकरण (ammonification) भनिन्छ।

★ नाइट्रिफाइङ ब्याक्टेरिया कति प्रकारको हुन्छ ?

→ २ प्रकार (नाइट्राइट ब्याक्टेरिया (nitrite bacteria) र नाइट्रेट ब्याक्टेरिया (nitrate bacteria))

 नाइट्रोजनका यौगिकहरूलाई माटोमा पाइने जीवाणुहरूले विखण्डन गरी बोटबिरुवाहरूले लिन सक्ने नाइट्रेटमा परिवर्तन गर्ने प्रक्रियालाई नाइट्रीकरण (nitrification) भनिन्छ ।

माटोमा एक किसिमका स्वतन्त्र जीवाणुहरू हुन्छन् जसलाई डिनाइट्रिफाइङ ब्याक्टेरिया (denitrifying bacteria) भनिन्छ। यस प्रक्रियालाई डिनाइट्रीकरण (denitrification) भनिन्छ।